गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको नयाँ सदस्यता खुलाइएको छ । पुराना सदस्यहरुले नवीकरण गर्न र नयाँ सदस्यता प्राप्त गर्नका लागि खुल्ला गरिएको एनआरएन अष्टे«लियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् । गैरआवासीय नेपाली संघको चुनाव नजिकिँदै गर्दा सदस्यता वितरण कार्य अगाडि सारिएको छ । रेग्मीका अनुसार नयाँ सदस्यता लिनका लागि २ वर्षका लागि २५ डलर शुल्क तोकिएको छ ।
करिब एक लाख नेपालीको बसोबास रहेको भनिएको अष्ट्रेलियामा जम्मा ५ हजार सदस्यमा यो पटक १० हजार बनाउने लक्ष्य राखिएको छ । सदस्य बन्नका लागि एनआरएन अष्ट्रेलियाको वेवसाईटमा गएर सदस्यता आवेदन भर्नुपर्नेछ । यसैगरी परिवार आजीवन सदस्यताको ५ सय डलर, व्यक्तिगत आजीवन सदस्यताको २ सय ५० डलर शुल्क राखिएको छ । आजिवन सदस्यता यो वर्ष देखि खुल्ला गरिएको हो । दुई वर्षको साधारण सदस्यता शुल्क परिवारका लागि ५० डलर र व्यक्तिगत २५ डलर तोकिएको छ ।
यसभन्दा अघि नेपालबाट पढ्न गएका विद्यार्थीलाई सदस्यता दिइएको थिएन तर यो पटक दिने तयारी भएको विज्ञप्तीमा उल्लेख छ । तर उनीहरुले नयाँ कार्यसमितिको लागि मतदान गर्न भने पाउने छैनन् । विद्यार्थीले एकजनाले १० डलर तिरेर एशोसिएट सदस्य हुन सक्नेछन् भने परिवारकै सदस्यताको लागि २० डलर शुल्क तोकिएको छ । एसोसियट सदस्यता शुल्कबाट जम्मा भएको रकम विद्यार्थी कल्याण कोषमा जम्मा गरेर विद्यार्थीहरुको हकहितको लागि प्रयोग गरिने रेग्मीले जनाएका छन् ।