निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र छपाइको काम सुरु गरेको छ। कान्तिपथस्थित आयोगको परिसरमा सुरु गरिएको मतदाता परिचयपत्र छपाइ कार्यको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आज सुभारम्भ गरेका हुन्।
छपाइको जिम्मा पाएको ‘ओमनी ग्रुपले’ मतदाता परिचयपत्रको काम १० दिनमा पूरा गर्ने ग्रुपका संयोजक कुल हरिले जानकारी दिए। मतदाता परिचयपत्र छपाइका लागि तीन सेवामा गरी ६०० कर्मचारी खटाइएको उनले बताए।
परिचयपत्र छपाउनका लागि तीनवटा छपाइ मेसिन र ३६ वटा लेमिनेसन मेसिन प्रयोगमा ल्याइएको छ। त्यस्तै लेमिनेसनका लागि थप २२ वटा मेसिन जगेडामा राखिएको छ।
दैनिकरुपमा १० देखि १४ लाखसम्म परिचयपत्र तयार हुने जानकारी दिइयो। यसपटकको मतदातापत्र विगतको तुलनामा निकै गुणस्तरयुक्त र सुरक्षित रहेको आयोगले दाबी गरेको छ । यो परिचयपत्र १० वर्षसम्म सहजै प्रयोग गर्न सकिने बताइएको छ।
निर्वाचनका लागि आइतबार आयोगले मतदाताको सङ्ख्या यकिन भएसँगै नामावली र परिचयपत्र छपाइको काम धमाधम सुरु भएको हो।
यी दुवै कार्यले मतदाता, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचनको थप सुनिश्चितता प्रदान गरेको छ। आगामी निर्वाचनका लागि आयोगले एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नाम आइतवार नै स्वीकृत गरेको छ। – रासस